Mansara

चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक

२०८० चैत्र ८
चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक

चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ ।

सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका बाजे (प्रविण खतिवडा) र लिम्बुनी (मिरुना मगर) छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ । टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ । उनी लामो समयदेखि कसैको खोजीमा रहेको जस्ता देखिन्छ। चलचित्रले चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ ।

उपेन्द्र सुब्बा निर्देशित चलचित्र आगामी वषृको वैशाख २१ गते प्रदर्शनमा आउँदे छ । चलचित्रमा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता हुन् ।

चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।