Mansara

प्रिमियरमा ‘महापुरूष’ लाई उत्कृष्ट प्रतिक्रिया

२०७९ कार्तिक ७
प्रिमियरमा ‘महापुरूष’ लाई उत्कृष्ट प्रतिक्रिया

चलचित्र ‘महापुरूष’को प्रिमियर गरिएको छ । भाइटिकाको भोलिपल्टबाट प्रदर्शनमा आउने चलचित्रको ५ दिन अगावै प्रिमियर गरिएको हो । राजधानीमा आयोजित प्रिमियरमा चलचित्र हेरेका चलचित्रकर्मी र सञ्चारकर्मीहरुले यसको खुलेरै संसा गरेका छन् ।

चलचित्र ‘महापुरूष’ हेरेपछि कलाकार किरण केसीले अहिलेसम्मकै उत्कृष्ट भन्दै तारिफ गरे । उनले भने – ‘चलचित्रको प्रसंशा शब्दमा गर्न सक्दिन । हरिवंशको अभिनय जीवन्त छ । प्रदीपले सुहाउँदो रोल र कथामा चलचित्र तयार गरेका छन् । स–परिवार हेरेर मनोरंजन लिन सक्नुहुनेछ’ । यस्तै निर्देशक निश्चल बस्नेतले कथा र पात्र चयनमा निकै ध्यान दिएको बताए । उनले धेरै पछि हरिवंश आचार्यको जिवन्त अभिनय हेर्न पाइएको जनाए । निश्चलले हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ सहित कलाकारको कामको प्रसंसा गरेका छन् । यस्तै अभिनेत्री स्वस्तिमा खड्काले समग्रमा चलचित्र राम्रो बनेको बताइन ।

अभिनेत्री केकी अधिकारीले चलचित्रले उठान गरिएको विषयवस्तुले युवालाई सोच्न बाध्य बनाउने बताइन । यस्तै अभिनेत्री बेनिशा हमालले थाहाँ नै नपाइ क्यारेक्टरसँगै हास्ने र रुने गर्न पुगेको प्रतिक्रिया दिइन ।

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट चलचित्र भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा चलचित्रै बनेका थिएनन् । महापुरूषले बाको कथा उठाएको छ । चलचित्र अत्यन्त बलियो छ,’ उनले भने ।

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्य ‘महापुरूष’ थ्रि इडियट्स (निर्देशक प्रदीप भट्टराई, निर्माताद्वय रविन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्री) ले बनाएको बताउँछन् । उनले यस किसिमको गम्भीर कथामा चलचित्र बनाउने मेकर इडियट नै रहेको बताए ।

मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले चलचित्र राम्रो बनेको बताउँदै भोलीका दिनमा पनि चलचित्र खेल्ने वाचा गरे । अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यू अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आर्शिवाद र छत्रछायाँका कारण सम्भव भएको बताए । डेब्यु अभिनेत्री अन्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुसी प्रकट गरिन् ।

एकल अभिभावकको एक्लोपनको कथा भनिएको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।