महापुरूषले मनायो ५१ औँ दिन : पहिलो ‘कार्बन तटस्थ’ चलचित्र घोषणा
निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो चलचित्र ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।
मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, किर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औँ दिन पुरा भएको छ । चलचित्रले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्न समेत सफल भएको छ ।
५१ औँ दिन पुगेको अवसरमा चलचित्र युनिटले केक काट्दै सेलिब्रेसन् गरेको छ । केही समय यता अमेरिका भ्रमणमा रहेका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा टिमले केक काट्दै पहिलो ‘कार्बन तटस्थ’ चलचित्र बनेको बारेमा जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ चलचित्रले महत्वपूर्ण वातावरणीय अध्याय थालेको विषयमा प्रस्ट्याईयो ।
चलचित्र निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड–पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो । यो उत्सर्जन बेलायतमा चलचित्र निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए । बेलायतमा एउटा चलचित्र निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे ।
उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो । जसमा चलचित्र छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे । ६ टनभन्दा बढी कार्वन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि चलचित्र निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भइरहेको जनाए ।
निर्माता म्याक्स दिपेश खत्रीले अन्य चलचित्रले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताए । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अन्य चलचित्र निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए । व्यक्तिगतरुपमा पनि आफूहरु कार्वन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाए । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलतासँगै दायित्व थपिएको बताए । ‘मसँगै चलचित्रकर्मीलाई सामाजिक सन्देश भन्न समेत उर्जा मिलेको छ । यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औँ दिन पुरा गरेको छ’, निर्देशक भट्टराईले भने । भट्टराईको डेब्यु चलचित्र जात्रासँगै शत्रु गते र जात्रै जात्राले समेत ५१ औँ दिन पार गरेको थियो । उनी लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बनेका छन् ।
नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको चलचित्र गत डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
