शुभमुहूर्त सँगै ‘महाजात्रा’को छायाँकन शुरु

२०८० कार्तिक १५
शुभमुहूर्त सँगै ‘महाजात्रा’को छायाँकन शुरु

चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै बुधबार बाटै बुढानीलकण्ठमा निर्माण गरिएको सेटमा छायाँकन समेत शुरु भएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहने चलचित्रको मुहूर्तमा विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेका थिए । चार घण्टा चलेको पूजामा चलचित्रको ‘कास्ट एण्ड क्रिउ’ सहभागी थियो । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन सेड्युल ४५ दिन तय गरिएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले चलचित्रको मुख्य सेटिङ काठमाडौं र आंशिक रुपमा तराईको हुने बताए । ‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक भट्टराईले चलचित्रमा बहुघटनाको कथावस्तु चित्रण हुने बताए । ‘एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशनमा र आशिष अविरलको संगीत रहने छ ।