‘महाजात्रा’ मा जोडिए दिव्यदेव, गौमाया र शिशिर

२०८० कार्तिक १
‘महाजात्रा’ मा जोडिए दिव्यदेव, गौमाया र शिशिर

चलचित्र ‘महाजात्रा’मा हरिवंश आचार्य पछि दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल आवद्ध भएका छन् ।

उनीहरूले आफ्नो लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसकेका छन् । चलचित्रका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको यो तेस्रो शृङ्खला हो । कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् ।

चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्र छायाङ्कन नहुँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।