Mahajatra

निर्मला बलात्कार प्रकरणमा आधारित ‘कोपिला’को च्यारिटी शो

२०७६ माघ १२
निर्मला बलात्कार प्रकरणमा आधारित ‘कोपिला’को च्यारिटी शो

चलचित्र ‘कोपिला’को च्यारिटी शो सम्पन्न गरिएको छ । हेटौंडाको एनएस सिनेमा हलमा सम्पन्न शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।

कवानपुर जागरण अभियानले आयोजना गरको च्यारिटीमा स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको समेत उपस्थिति रहेको थियो । उनलाई आभार पत्र सहित च्यारिटीबाट संकलित मध्येको ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।  उनलाई निर्देशक अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायतले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् । च्यारिटीमा अभिनेता रमित ढुंगाना, निर्मात्री कृषा चौलागाईं, पत्रकार डब्बु क्षेत्री, निर्देशक गोविन्द गौतमलगायत महिला अधिकारकर्मी र संचारकर्मीको समेत उपस्थिति थियो ।

निर्देशक अधिकारीकै लेखन रहेको चलचित्रमा संजीवनी खरेल, सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । मणिराज गौतमले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, बन्दे प्रसादको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । चलचित्रमा निर्मलाको भूमिकामा निभाएकी संजीवनीको कामको समेत तारिफ भएको छ ।