Mansara

किशोर रानालाई एलजी सिनेसर्कल लाईफ टाईम अचिभमेन्ट अवार्ड

२०७५ भाद्र २०

एलजी सिनेसर्कल अवार्डको अवसरमा निर्देशक किशोर रानालाई लाईफ टाईम अचिभमेन्ट अवार्ड अर्पण गरिने भएको छ । रानालाई नगद रु ५१ हजार सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड अर्पण गर्न लागिएको आयोजक सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले जनाएका छन् ।
वि.सं. २०१२ मा सुनसरीमा जन्मिएका रानाले मुम्बईबाट चलचित्र यात्राको शुरुवात गरेका थिए । मुम्बईमै द्वन्द्व तथा कला निर्देशक गोपाल भुटानीसँग भेट भएपछि उनी मार्फत नै किशोर निर्देशक बी.एस. थापा निर्देशित चलचित्र कान्छीमा आवद्ध भएका थिए । सन् १९८४ को उक्त चलचित्रमा मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै उनी नेपाली चलचित्रमा प्रवेश गरेका थिए ।
सन् १९९४ को चलचित्र कर्जा मार्फत निर्देशनमा डेव्यु गरेका रानाले राँको, करोडपति, सिमारेखा, घामछाँया, एक नम्वरको पाखे, बन्धकी, प्रतिबिम्बलगायत डेढ दर्जन नेपाली चलचित्र र केही भोजपुरी चलचित्रको समेत निर्देशन गरेका छन् । उनले केही चलचित्र समेत लेखेका छन् ।
सन् २०१६ को चलचित्र प्रतिबिम्बमा काम गर्ने क्रममा उनको मृगौलामा समस्या देखिएको हो । दुवै मृगौलामा खराबी देखिएपछि हाल उनी मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुरमा उपचाररत छन् ।
कार्यक्रममा २२ बिधामा अवार्ड समेत प्रदान गरिनेछ । अवार्डका लागि २०७४ सालमा प्रदर्शनमा आएका ६३ चलचित्रले सहभागिता जनाएका छन् । यो एलजी सिनेसर्कल अवार्डको तेस्रो संस्करण हो ।
कार्यक्रम द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनामा आयोजना गरिदैछ । एलजी सिनेसर्कल अवार्ड यही भाद्र ३१ गते राष्ट्रिय सभागृहमा आयोजना गरिदैछ ।

Mahajatra