Mahajatra

‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने

२०७८ मंसिर १९
‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आयोजना हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलन बिच आगामी मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो ।

आयोजक हिमाल एसोसिएसनका अनुसार महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्र सहभागी रहेका छन् । उक्त चलचित्रलाई अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितीमा देखाइने भएको छ । कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेकाले यसपटकको किम्फ हाइब्रिड शैलीमा गर्न लागिएको हो । 

यसवर्षको किम्फको उपशीर्षक ‘जलवायु कर्म’ राखिएको छ । उक्त उपशीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापीरुपमा भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु फेस्टिभलको उद्देश्य रहेको जनाइएको छ । 

किम्फको उद्घाटन समारोहमा भारतको लद्दाखका चर्चित वातावरणविद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुने भएको छ । चर्चित बलिउड फिल्म ‘थ्री इडियट्स’ सोनमकै जीवनमा आधारित रहेको बताइन्छ ।

यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली फिल्म निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मका प्रतिस्पर्धा पनि गरिने भएको छ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टीकटक च्यालेन्ज प्रस्तुत गर्नेछन् भने नेपाली फिल्ममेकरले बनाएका फिल्महरु नेपाली पानोरममा हेर्न पाइनेछ । 

फेस्टिभलमा अनलाइन देखाइने चलचित्रहरु किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सव अवधिभर हेर्न सक्नेछन् ।

किम्फ २०२१ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने तीन चलचित्र (छानिएका ४० मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म (छानिएका १३ वटा मध्येबाट) निर्णय गर्नेछन् । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढलाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । 

यसपटकको संस्करणमा चलचित्र निर्माता, चलचित्र, समीक्षक, विद्धान, पत्रकार, कलाकार र पर्वतारोहीको उपस्थितीमा छलफल, व्याख्यान र तस्बिरहरुको प्रदर्शनी र कला परियोजना संचालन हुने भएका छन् ।

अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा मेरो खोज यात्रा नामक स्विस भूवैज्ञानिक टोनी हेगनको बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्डको नेपाली अनुवाद तथा सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड लगायत चलचित्र स्क्रिनिङ हुने जनाइएको छ । 

किम्फमा ब्रेकिङ कोड रेड– डिग्निटी विथ डेन्जर शीर्षकमा नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा वातावरणसम्बन्धी संवाद र छलफल पनि प्रस्तुत हुने जनाइएको छ । 

महोत्सव अन्तर्गत नेपाल पर्यटन बोर्डमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले सिरा क्रोवेलको पर्वतीय फोटोग्राफी तथा हिउँ चितुवाका फोटाहरु प्रस्तुत गर्ने भएको छ । क्लाइमेट कर्म विषयक पोस्टर प्रदर्शनी समेत हुने भएको छ । 

किम्फका अध्यक्ष बसन्त थापाले महोत्सवमा देखाइने फिल्म र यसमा समाविष्ट कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई असर गर्ने मुद्दाको बारेमा हुने संवादमा संलग्न गराउने बताए । 

हिमाल एसोसिएसनले आयोजना गर्ने किम्फ २०२१ को सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने यसको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गर्ने भएको छ । यसपटकको किम्फ चावहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा हुनेछ । 

आयोजित प्रेसमिटमा किम्फको ट्रेलरसहित हिमालय क्षेत्रमा चितुवाको संरक्षण र फोहोर व्यवस्थापनबारेका दुई छोटा चलचित्र पनि प्रदर्शन गरियो ।