Mansara

‘खलंगामा हमला’ माथि चलचित्र बन्ने

२०७९ जेष्ठ २५
‘खलंगामा हमला’ माथि चलचित्र बन्ने

‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’ माथि फिल्म निर्माण हुने भएको छ । निर्देशक विनोद विष्टले राधाको कृतिलाई फिल्ममा उतार्न लागेका हुन् ।

२०५९ कार्तिक २८ गते माओवादीले जुम्लाको खलंगामा आक्रमण हुँदा त्यो समयमा त्यहाँ राधा नर्सका रुपमा कार्यरत थिइन् । त्यही समयको सेरोफेरोलाई उनले पुस्तकमा उतारेकी थिइन् ।

‘अहिले हामी सुरुवाती अवस्थामा छौं । स्क्रिप्टलाई फाइनल गर्न करिब ९ महिना लाग्नेछ । लेखिकासँगै बसेर स्क्रिप्ट फाइनल गरेपछि हामी कलाकार र प्राविधिक छनोट गर्नेछौं’, निर्देशक विष्टले भने ।

निर्देशक विष्टले पुस्तकमा आधारित रहेर फिल्म बनाउदा त्यहाँबाट बाहिर जान नसकिने उल्लेख गर्दै पुस्तक र पात्रलाई न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । निर्देशक विष्टले यसअघि नै ‘मदन पुरस्कार’ प्राप्त साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडाकी फूल’माथि फिल्म बनाइसकेका छन् । ‘मैले जीवन काँडाकि फूल बनाइसकेपछि धेरै पुस्तक पढें । तर खलंगामा हमलाले मेरो मन छोयो । त्यसपछि राधा पौडेलसँग लामो प्रयासपछि उहाँसँग सम्पर्क भयो । अनि मैले आफ्नो चाहना राखेपछि उहाँले स्वीकृति दिनुभयो’, विष्टले भने ।

राधाले आफूले फिल्म ‘जीवन काँडाकि फूल’ हेरेपछि विनोदको कामप्रति विश्वास बढेको बताइन् । ‘त्यो फिल्मबाट म प्रभावित भएको थिएँ । उहाँले नै मेरो कृतिमा फिल्म बनाउने भनेपछि मैले हुन्नँ भन्न सकिनँ’, राधाले भनिन् ।