केदार घिमिरेको गुनासो: मेकरले ‘माग्ने बुढा’ छोड्नै दिएनन्

२०८२ श्रावन २८
केदार घिमिरेको गुनासो: मेकरले ‘माग्ने बुढा’ छोड्नै दिएनन्

भाद्र ६ गते रिलिज हुने चलचित्र ‘माग्ने राजा’को शिर्ष भूमिकामा छन् केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ । ‘मेरो बास्सै’ नामको टेलिफिल्ममा उनले गरेको ‘माग्ने बुढा’को क्यारेक्टर यति चर्चित भयो की उनको पहिचान नै फेरियो । अर्थात उनलाई केदार घिमिरेका नामले कम र ‘माग्ने बुढा’का नामले ज्यादा चिनिन थालियो । यति बेला उनको यही चरित्रमा टेकेर चलचित्र बनेको छ ‘माग्ने राजा’ । ‘माग्ने राजा’ यतिबेलाको प्रतिक्षित चलचित्र मध्येको एक हो ।

यहाँको चलन नै यस्तै छ, जे विक्छ सबैले त्यही बेच्न खोज्छन् । घिमिरेको हकमा पनि यस्तै भयो, उनलाई धरैले ‘माग्ने बुढा’कै रुपमा बेचे । अर्थात घिमिरेले जति पनि स्टेज, बिज्ञापन वा चलचित्रमा काम गरे त्यहाँ उनले ‘माग्ने बुढा’ छोड्नै पाएनन् ।

बुधबार राजधानीमा पत्रकारहरुसँग साक्षात्कार गर्दै घिमिरेले आफू भर्सटायल कलाकार नभए पनि पहिले देखि नै केही फरक गर्न खोज्दा निर्माता निर्देशकले नदिएको गुनासो गरेका छन् । उनले मेकरहरुले आफुलाई त्यही ‘माग्ने बुढा’को क्यारेक्टर÷लवज मन परेका कारण अफर गर्न आएको भन्दै अरु क्यारेक्टर गर्न नदिएको बताए । यद्यपी आफुले आफ्नो तर्फबाट सक्ने जति परिवर्तन गर्दै आएको उनको भनाई छ । उनले भने – “चलचित्र ‘छ एकान छ’ मा माग्नेले लगाउने गरेको ‘माकल टोपी’ आधा खोलेको छु, ‘वडा नम्बर ६’मा गेटअप नै परिवर्तन छ, माग्नेको टोन मात्र बाँकी छ ।”

उनले ‘छक्का पञ्जा’मा पनि टोन मात्र बाँकी रहेको बताउँदै ‘छक्का पञ्जा २’ मा कन्सल्टेन्सी मामाको क्यारेक्टर गर्दा ह्याट लगाएको सुनाए । ‘छ माया छपक्कै’मा गोली कान्छाको फरक भूमिका गरेको बताएका घिमिरेले क्यारेक्टर फरक भएपनि निर्माता निर्देशकले आफुलाई माग्नेले बोल्ने बोलीको लवज मात्र भएपनि छोड्न नदिएको जनाए ।

उनले मेकरतिर औला सोज्याए पनि कतै घिमिरेले नै पो ‘माग्ने बुढा’को लिगेसी कायम गरि रहेका हुन् की भन्ने शंका उब्जन सक्छ । यद्यपी उनी आफू परिवर्तनका लागि तयार रहेको बताउँछन् । तर, उनी प्रश्न गर्छन – ‘म फरक गर्न तयार छु । तर, त्यो फरक गरेको कुरा किन्न निर्माता निर्देशक तयार हुनुहुन्छ वा हुनुहुन्न ?’

‘माग्ने राजा’मा पनि घिमिरे माग्नेकै लवजमा प्रस्तुत भएको देखिन्छ । सामिप्यराज तिमिल्सिनाको लेखन रहेको चलचित्रमा घिमिरेका साथै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङदेललगायतका कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक ऋषी लामिछाने हुन् ।