Mansara

कामना फिल्म अवार्डस् सम्पन्न, नीर र सन्तुलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड

२०७६ पौष २१
कामना फिल्म अवार्डस् सम्पन्न, नीर र सन्तुलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड

पाँचौ सस्करणको कामना फिल्म अवार्ड २०७६ सम्पन्न भएको छ । कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा राजधानीमा आयोजित कार्यक्रमका बिच अवार्ड सम्पन्न भएको हो ।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य  ९ गरी  कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त समारोहमा नेपाली फिल्म क्षेत्रको पर्दा अगाडी र पर्दा पछाडी रहेर योगदान पुर्याउने दुई चलचित्रकर्मीलाई किर्तीमय दिर्घ योगदान सम्मान (लाईफटाईम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई र मेकअप आर्टिष्ट सन्तु तामाङलाई जनही नगद १ लाख रुपियाँ सहित किर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरीएको थियो ।

स्व. भरतलाल क्षेष्ठको नाममा स्थापित भरतलाल ह्युम्यानिटेरियन अवार्ड शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने समाजसेबी सोनाम साङ्पोलाई प्रदान गरियो । यस्तै पुष्कर मिडीया अवार्ड इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रवन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ । दुवै अवार्डमा जनही १ लाख नगद समेत प्रदान गरिएको छ ।

समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले प्राप्त गरेको छ । १० विधाको मनोनयमा परेको प्रसादले सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड प्राप्त गरेको छ । यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए । समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाई नभन्नु ल ५  ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाँकन गरी ५ विधाको अवार्ड चुमेको छ । यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायांकारको अवार्ड चुम्न सफल भए ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढको समारोहमा १२ विधाको मनोनयनमा परेको  छक्का पञ्जा ३ ले हाँस्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी ३  विधाको अवार्ड चुमेको छ । १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ । समारोहमा चलचित्र साईंलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ । यस वर्षको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए । त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता भएको छ । समारोहमा चलचित्र हरीलाई जुरी अवार्ड प्रदान गरीएको छ ।

Mahajatra