‘बलिदान’मा कविताको ‘एक्सन लुक्स’

२०८१ फागुन २३
‘बलिदान’मा कविताको ‘एक्सन लुक्स’

चलचित्र ‘बलिदान’को प्रमुख नारी पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा ‘किरण’ पात्रको भूमिकामा अभिनय गरेकी अभिनेत्री कविता रायलाई ‘एक्सन लुक्स’मा प्रस्तुत गरिएको छ । पोस्टरले किरण पात्रको हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थालाई दर्शाउँछ । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ । उनी चलचित्रमा समिर भट्टको जोडीका रुपमा देखिएको बुझिएको छ ।

आगामी वडा दसैँको फूलपातीमा रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका हुन् । सेनका अनुसार चलचित्रको कथा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए । सन्तोषका अनुसार उक्त वर्गलाई चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिइएको छ भने उक्त समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरिएको छ ।

कविता चलचित्रमा अडिसन मार्फत छनौट भएको जनाइएको छ । ‘किरण पात्रका लागि उपयुक्त हाउभाउ, रुपरङ र सशक्त अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसन आह्वान गरिएको थियो । हाम्रो कल्पनाको किरण, जसको आवरण, आचरण, लवज र पात्रले देखाउनुपर्ने प्रभावशाली अभिनय कविता रायमा भेटिएकाले हामीले उहाँलाई छनौट गरेका थियौँ,’ निर्देशक सेनले भने ।

‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’को प्रस्तुति रहेको चलचित्रमा समीर र कविताका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।