Mansara

छायाँकनमा 'झिँगेदाउ'को एक गीत

२०७९ जेष्ठ २६
छायाँकनमा 'झिँगेदाउ'को एक गीत

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको सिनेमा 'झिँगेदाउ'को एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोष्ट-प्रोडक्सनको काम पनि सकाई सकेका छन् ।

केही दिन यता निर्देशक देउजा ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको सिनेमाको एक गीतको छायांकन गरिरहेका छन् । बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षात्का कारण सिनेमाको छायांकन बिहीबार अर्थात् आजमात्रै सकिने भएको छ । निर्देशक देउजाले सिनेमाको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।

सिनेमाको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । सिनेमा आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।

सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मिठो भएको हुँदा भिडियोमा पनि सोही अनुसार मेहनत गरिरहेको सुनाए । 'ए माया तिमी विना जीवन चल्दैन' बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा 'झिँगेदाउ'मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सिनेमामा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।

Mahajatra