‘झिल्को’को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको कथा

२०८१ फागुन २६
‘झिल्को’को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको कथा

चलचित्र ‘झिल्को’को टिजर सार्वजनिक गरिएको छ । यादबकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्रको टिजर बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरले चलचित्रको कथा मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरमा केन्द्रित रहेको संकेत दिएको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।

निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका छन्। उनले चलचित्र ‘झोला’मा सती प्रथा र  ‘भोर’मा दाइजो प्रथाको उठाए झैं  ‘झिल्को’मा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको जनाइएको छ । चलचित्रमा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठको लगायतको अभिनय छ ।

दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र उत्तम न्यौपानेको साउण्ड मिक्सिङ छ । कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । चलचित्रमा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत र शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ । मिडिया फर कल्चर प्रा. लि.को प्रस्तुति रहेको चलचित्रमा जनता टिभिले निर्माण सहकार्य गरेको छ । चलचित्र आगामी वर्षको वैशाख १९ गते रिलिज हुँदैछ ।