चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

२०८१ चैत्र २२
चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । 

भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनले नृत्य गरेका छन् । उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ । साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ ।

आगामी वैशाख १९ गते प्रदर्शनमा आउने चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनाइएको निर्देशक यादव कुमार भट्टराईले बताए । मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा चलचित्रमा देखाइएको उनको भनाई छ ।

चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर कथा तथा पटकथा तयार पारको चलचित्र मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुतिमा निर्माण भएको हो । निर्माणमा जनता टिभीको सहकार्य रहेको छ ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)