‘पाँडे’को निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’को मुहूर्त

२०८२ श्रावन १६
‘पाँडे’को निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’को मुहूर्त

चर्चित टेलिभिजन सिरियल भद्रगोल बाट चर्चामा आएका कलाकार अर्जुन घिमिरे (पाँडे)ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । उनको निर्देशनमा बन्न लागेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’को बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा शुभमुहूर्त गरिएको छ ।

चलचित्रमा गणेश उप्रेती, प्रियाना आचार्य, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ । निर्देशक घिमिरेको अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । गणेश उप्रेतीले यसै चलचित्रबाट ९ वर्षपछि नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।

शुभमुहूर्तसँगै आजैबाट चलचित्रको छायांकन सुरु गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा छायाँकन हुने चलचित्रको छायाँकन सेड्युल ४५ दिनको रखिएको छ । पारिवारिक कथावस्तुमा निर्माण हुने जनाइएको चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई बुद्ध थापाले छायांकन गर्नेछन् । चलचित्रमा सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको गीत रचना रहने चलचित्रको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ ।