‘जेरी अन टप’को गीत खिच्न जयपुरमा अनमोल र आँचल

२०८२ श्रावन २९
‘जेरी अन टप’को गीत खिच्न जयपुरमा अनमोल र आँचल

चलचित्र ‘जेरी अन टप’को एक गीत छायाङ्कनका लागि निर्माण टिम भारतको जयपुर पुगेको छ । अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक भावमा प्रस्तुत गर्दै बुधबारबाट गीतको छायाँकन थालिएको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।

गीत रोमान्टिक भावको भएको जनाइएको छ । गीत छायाङ्कन सेटबाट प्राप्त तस्बिरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिन्छन् । गीतको छायाङ्कन सकेर टोली शनिबार नेपाल फर्किने कार्यक्रम छ । 

टोलीमा निर्माता न्यौपाने, कलाकारहरु केसी र शर्मा सहित निर्देशक सुयोग गुरुङलगायत रहेका छन् । कथाको माग अनुसार आवश्यक दृश्य छायाङ्कनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए । 

तिहारको छेको पारेर आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायांकन सुरु भएको ६ महिना बढी भइसकेको छ । तर, अझै छायांकन सकिएको छैन ।

अनन्या फिल्मस् प्रालिको ब्यानरमा बनिरहेको चलचित्रमा जसिता गुरुङ, चर्चित हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीलगायतको पनि अभिनय छ । 

चलचित्रमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग मिलेर लगानीमा साझेदारी गरेका छन् । चलचित्रमा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको सङ्गीत छ ।

चलचित्रको कार्यकारी निर्मातामा अनुराधा गिरी, ईश्वर श्रेष्ठ र  एसोसिएट निर्मातामा नवीन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।