‘जेरी २’को टाइटल फन्ट बनाउदा ५० हजार पुरस्कार

२०७९ पौष १
‘जेरी २’को टाइटल फन्ट बनाउदा ५० हजार पुरस्कार

अनमोल केसी स्टारर चलचित्र ‘जेरी २’को लागि निर्माण पक्षले ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ आव्हान गरेको छ । इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्नेछ । यसमा नक्कल गरिएको डिजाइन मान्य हुनेछैन ।

पुष १० अर्थात डिसेम्बर २५ सम्म प्रतिस्पर्धीले आफ्नो डिजाइन ‘Nepmoviesentertainment@gmail.com’ ठेगानामा पठाइसक्नु पर्नेछ । निर्धारित मिति भन्दा ढिलो पठाइएको डिजाइनले प्रतिस्पर्धामा भाग लिन नपाउने निर्माण पक्षले बताएको छ ।

जुरीको मुल्यांकनका आधारमा विजेता छनोट गरिनेछ । उत्कृष्ट डिजाइन चलचित्रमा समावेश हुनेछ भने विजेताले ५० हजार नगद जित्नेछन् ।

हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । अनमोलसंगै चलचित्रमा पूर्णिका सिजापति मुख्य भूमिकामा फाइनल भइसकेकी छिन ।

‘जेरी २’मा हेमराज र अनमोलको ६ वर्षपछि सहकार्य हुन लागेको हो । यसअघि उनीहरुले होस्टल, जेरी र गाजलुमा एकसाथ काम गरेका थिए ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । सरोजले यसअघि हेमराज निर्देशित चलचित्र ‘सम्बोधन’ र ‘द ब्रेकअप’मा लगानी गरिसकेका छन् ।