Mahajatra

‘जात्रै जात्रा’ ५१ औं दिन, भट्टराईको ५१ दिने ह्याट्रिक

‘स्वेता श्री फाउन्डेशन’लाई नगद १ लाख ११ हजार सहयोग

२०७६ आषाढ २२
‘जात्रै जात्रा’ ५१ औं दिन, भट्टराईको ५१ दिने ह्याट्रिक

चलचित्र ‘जात्रै जात्रा’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्रले राजधानीको एक्यूएफएक्स, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिज लगायतका चलचित्र हलमा प्रदर्शनको ५१ औं दिन मनाउन सफल भएको हो ।

प्रदर्शनको ५१ दिन पुरा गरेको अवसरमा राजधानीको सोल्टी होटलमा एक कार्यक्रमको आयोजना गरी कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र मिडियाकर्मीलाई कदरपत्र तथा सम्मानपत्र प्रदान गरिएको छ ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । कमेडी जनरामा निर्माण भएको ‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

कार्यक्रममा विकास बोर्डका अध्यक्ष केशव भट्टराई सहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, स्वेता खड्का, पूजा शर्मालगायतको उपस्थिति थियो । चलचित्रका प्राबिधिक तथा कलाकारहरुले उपस्थित पाहुनासँग सफलताको खुशी साटेका थिए । 


भट्टराईको ५१ दिने ह्याट्रिक


‘जात्रै जात्रा’को ५१ दिने सफलतासँगै निर्देशक प्रदिप भट्टराईले निर्देशनमा ५१ दिने ह्याट्रिक गरेका छन् । यसअघि उनले निर्देशन गरेका चलचित्रहरु ‘जात्रा’ र ‘शत्रु गते’ले पनि प्रदर्शनको ५१ दिन पुरा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ५१ दिने ह्याट्रिक गरेका निर्देशक भट्टराईले आफ्ना चलचित्रको सफलताले आफूलाई अब कस्तो चलचित्र निर्माण गर्ने भन्ने चुनौती थपिएको बताए ।


‘स्वेता श्री फाउन्डेशन’लाई १ लाख ११ हजार


कार्यक्रममा अभिनेत्री स्वेता खड्काले संचालन गरेको ‘स्वेता श्री फाउन्डेशन’लाई नगद १ लाख ११ हजार सहयोग प्रदान गरिएको छ ।

निर्माण टिमको पूर्व घोषणा अनुरुप सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि फाउण्डेशनलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । चलचित्रको प्रचारको क्रममा टेलिभिजन कार्यक्रम को बन्छ करोेडपतिमा पुगेका अभिनेता विपिन कार्की र दयाहाङ राईले त्यहाँ जितेको सम्पूर्ण रकम चलचित्रका तर्फबाट श्वेता श्री फाउण्डेशनलाई प्रदान गर्ने निर्णय भएको घोषणा गरेको थियो । तर, उक्त कार्यक्रममा १० हजारभन्दा बढी जित्न नसकेकाले उक्त रकममा निर्माण टिमले एक लाख १ हजार १ सय ११ रुपैयाँ थप गरेर फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । अभिनेत्री स्वेता खड्काले चलचित्रको टिमबाट पाएको मायाले काम गर्न अझै हौसला मिलेको बताइन् ।