‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक

२०८२ श्रावन २६
‘जनै हराएको मान्छे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ । निम्नमध्यम बर्गीय आम नेपालीको पारिवारिक कथामा चलचित्र बनेको ट्रेलरले देखाएको छ । 

भदौ ६ गते रिलिज हुने चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।