धीरज र उपासना अभिनित ‘जलाकी’को पोष्टर सार्वजनिक

२०८२ श्रावन २०
धीरज र उपासना अभिनित ‘जलाकी’को पोष्टर सार्वजनिक

दोस्रो चरणको छायांकनको तयारीमा रहेको चलचित्र ‘जलाकी’को पोष्टर सार्वजनिक गरिएको छ । सोमबार अशोक थापामगर निर्देशित चलचित्रको दुई वटा पोष्टर रिलिज गरिएको हो । सोमबार रिलिज गरिएको पोष्टरमा कलाकारहरु धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । 

गत चैत्रमा पहिलो चरणको छायांकन गरिएको चलचित्रको असोज २१ गतेबाट दोस्रो चरणको छायाँकन हुनेछ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रको शिर्ष भूमिकामा धिरज र उपासना सहित सोनम तोप्देनको अभिनय रहने छ । यही चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् । यस्तै चलचित्रमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु)लगायतका कलाकारको पनि अभिनय रहने छ ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’को छायांकन पहिलो, दोश्रो र तेश्रो गरि तिन चरणमा सम्पन्न हुने निर्देशक मगरले जनाए ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु–भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने चलचित्रले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । चलचित्रका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका चलचित्रको डिओपीमा शैलेन्द्र डी कार्की र लाइन प्रोडुसरमा राजु रेग्मी मगर  रहेका छन् ।