टाइप कास्ट बन्न मन छैन – नाजिर हुसेन, कलाकार

लेन्सनेपाल २०७६ चैत्र ८
टाइप कास्ट बन्न मन छैन – नाजिर हुसेन, कलाकार

सन् २०१४ को चलचित्र ‘पुन्टे परेड’बाट ठुलो पर्दामा डेव्यु गरेपनि ‘होस्टेल रिटर्न्स’बाट स्थापित भएका कलाकार हुन नाजिर हुसेन । ‘होस्टेल रिटर्न्स’मा उनले गरेको तराई मुलको क्यारेक्टरले उनलाई स्थापित मात्र गरेन अन्य चलचित्रमा पनि साथ छोडेन । यो बिचमा १० चलचित्रमा अभिनय गरेका नाजिरका एकाध चलचित्र बाहेक सबै चलचित्रमा उस्तै लवज, उस्तै क्यारेक्टर अनि लाउड अभिनय नै देखियो ।

एक हिसाबले भन्ने हो भने नाजिर टाइप काष्ट जस्तो बने । यद्यपी उनले एकाध चलचित्रमा फरक खालको क्यारेक्टरलाई न्याय गरेर आफुलाई प्रुफ भने गरिसकेका छन् । नाजिरसँग तराईको कथा नेपाली चलचित्रमा आउन नसक्नुको कारणबारे लेन्सनेपालका लागि बिष्णु सुबेदीले गरेको कुराकानी :

जुन चलचित्र हेरे पनि उस्तै भुमिका, उस्तै लवज र लाउड क्यारेक्टरनै देखिन्छ, किन टाइप काष्ट हुनुभएको ?

यो दोष कसलाई दिने खै । म जहिले पनि नयाँ खोज्छु । अब छान्न थाल्यो भने घरमा थन्केर बसे हुन्छ जस्तो छ । मैले हरेक चलचित्रमा पहिलाको भन्दा फरक चाहने हो । हरेकले यो तिम्रो लागि नै लेखेको भन्नुहुन्छ । अनि सुन्दा खेरी उही लवज, तराईकै क्यारेक्टर, फरक भयो भने पनि लाउड क्यारेक्टर, चनमते खालको क्यारेक्टर, अनि चलचित्रको कथा सुन्दा मन पर्छ तर, त्यसमा आफ्नो क्यारेक्टर सुन्दा दुःख पनि लाग्छ । कति चलचित्र मैले उस्तै क्यारेक्टर भएर छोडे पनि । गनेर नै भन्दा ७–८ वटा छोडे हुँला । अब मैले कसलाई दोष दिउ ।

के लाग्छ ? दर्शकले नै तपाईलाई उस्तै क्यारेक्टरमा खोजेका हुन कि मेकरले ?

मैले मेरो फ्यानबाट फरक भएर आउनु पर्यो, हिरो हुन परयो, गहन भुमिकामा आउनु परयो भन्ने प्रतिक्रिया पाइरहेको छु । फ्यानहरुले त मलाई फरक खालको भुमिकामा पनि हेर्न चाहनु भएको प्रतिक्रिया पाएको छु तर, निर्माता निर्देशकले त्यस्तै खालका भुमिकामा मात्र मलाई लिन खोजेर हो की ।

तपाई तराईको मान्छे, लुक्स पनि मिल्ने भएर पो तराई केन्द्रित पात्रमा मात्र लिने हुन कि ?

एक हिसावले हुन सक्छ । मैले त्यसलाई नेगेटिभ रुपमा लिदिन । म तराईबाट आएको छु । मैले त्यो संस्कारलाई पर्दामा ल्याउनु मेरो दायत्व पनि हो । तर, मलाई टाइप काष्ट भएर बस्न चाँही मन छैन । मैले अन्य स्थानको लवज पनि सिकेर काम गरेको छु । मैले नाटकहरुमा फरक काम गरेर प्रुफ चाँही गरेको छु । गर्न पर्यो भने सिकेर गर्न मलाई गाह्रो छैन । सिकाई भयो भने गर्न सकिन्छ । ‘होस्टेल रिटर्न्स’को लवज पनि मेरो ठाँउको होइन सिकेर गरेको हुँ । तर पनि मलाई त्यस्तो फरक खालको क्यारेक्टरमा अफर आएको छैन ।

एकाध चलचित्र र पात्रलाई छोडेर हेर्दा अझै पनि नेपाली चलचित्रमा तराईको कथा, संस्कार र संस्कृति आउन सकेको छैन, किन होला ?

तराईमा कथा नभए होइन । त्यहाँको कथा नयाँ पनि लाग्न सक्छ । थुप्रै कथा छन् । यो ४ वर्षको यात्रामा मैले चलचित्रलाई अझ धेरै बुझ्न पनि पाएको छु । निर्माता निर्देशकको सोच बुझ्न थालेको छु । अहिले लाग्छ गर्ने कल्ले त ? मैले अरुलाई गर भन्दा औला त म तिर पनि फर्कन्छ नी । अरुलाई आक्षेप लगाउनु मात्र भन्दा पनि मैले के गरे त भन्ने पनि हो नी । मैले पनि त्यो कथा ल्याउन पर्ने हो । एकाध चलचित्रमा मैले मधेसको पात्र मात्र होइन त्यहाँको संस्कारलाई ल्याउने कोसिस गरेको छु, उनीहरुको इमोसनलाई ल्याउने कोसिसस गरेको छु । मैले जहिले पनि गर्ने कोसिस नै हो । तर, प्रायाप्त त होइन नी त्यो पनि । आगामी दिनमा केही हुन्छ कि आशा गरौं न ।

मधेस केन्द्रित कथाका चलचित्र असफल हुँदा निर्माता निर्देशकले रिक्स लिन नचाहेका हुन कि ? चलचित्रको ठुलो बजार मानिने पहाडी भेगका दर्शकले त्यहाँको कथालाई नरुचाएका हुन ?

दशर्ककले एसेप्ट गर्न नसकेको भन्ने हो भने मलाई ‘होस्टेल रिटर्न्स’ले नै स्थापित गराएको हो नी त । मैले त्यो चलचित्रमा तराई मुलको पात्रको अभिनय गरेको छु ।

आफैले तराईको क्यारेक्टरमा खेलेको चलचित्र र अरुले पनि मधेसको कथा उठाएको चलचित्रलाई हेर्दा तराईको कथा वा क्यारेक्टर सतही रुपमा मात्र प्रस्तुत भयो कि भन्ने मलाई पनि लाग्छ । गहिराईमा पुगेर हामीले त्यहाँको कथा उठान गर्न सकेनौ कि जस्तो लाग्छ । एउटा उखान छ नी पहाडेको सल्ला मधेसेको हल्ला । त्यस्तै पो भयो कि । हामीले तराईको कुरा उठाउँदा सतही रुपमा मात्र उठाएकोले दर्शकले स्वीकार्न नसकेका हुन कि । हामीले अलिकति गहन रुपमा त्यहाँको संस्कार र संस्कृतिलाई अध्ययन गरेर पनि देखाउन जरुरी छ कि जस्तो लाग्छ ।

मधेसीको हल्ला भन्ने भएकैले हो त चलचित्रमा तराई मुलको क्यारेक्टरलाई जहिले पनि लाउड देखाउने ?

हो नी । सबैले त्यही खोज्नु हुन्छ । मुभी मेकरहरुले समेत त्यही खोज्नु हुन्छ । म त काम गर्ने मान्छे न हो तै पनि मैले आरोप खेपिरहेको छु । नाजिरको क्यारेक्टर लाउड भयो भन्ने । तर, के गर्नु छायाँकनको बेला थोरै कन्ट्रोल भयो भने पनि डबिङ्गमा लाउड बोल्न लगाउनु हुन्छ ।

तपाई तराईकै मान्छेले त्यस्तो खालको भुमिका गर्दा साँच्चिकै त्यहाँको वास्तविकता त्यस्तै हो भन्ने पनि त लाग्न सक्छ नी दर्शकलाई ?

मलाई लागेको छ त्यो कुरा । तर, मैले कसलाई औला उठाउने । कि त मैले नै त्यहाँको कथा भन्न सक्नुपर्यो । मैले एक दुई जना निर्देशकलाई त्यहाँको कथा भन्दा त्यसलाई पहाडको बनाएर ढलौं भन्नु हुन्छ । किन त्यहाँको कथा, त्यहाँको परिवेश उतारिदैन । तराई भन्ना साथ भोजपुरी भन्ने आउछ दिमाखमा । तर, होइन । हामी पनि शुद्ध नेपाली बोल्छौं, अन्य ठाँउको लवजमा बोल्न सक्छौं । मलाई त्यहाँको कथा भन्न मन छ । म बाट शुरु हुन पर्छ भन्ने लाग्छ । गालि खाइरहेको छु तर, त्यसले मलाई सिकाइरहेको छ । मैले त्यहाँको कथा ल्याउने प्रयास गर्नेछु ।