Mahajatra

‘हुतुतु’ बनाउँदै सन्तोष सेन, हरिवंश, प्रदिप र पल सहित ८ अभिनेताको मुख्य भुमिका

२०७७ श्रावन २६
‘हुतुतु’ बनाउँदै सन्तोष सेन, हरिवंश, प्रदिप र पल सहित ८ अभिनेताको मुख्य भुमिका

चलचित्र ‘हुतुतु’ निर्माण हुने भएको छ । आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत घोषणा गरिएको हो ।

चलचित्रमा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहने छ । निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार यि सबै कलाकार मुख्य भुमिकामा रहने छन् । अभिनेत्रीहरु भने तय हुन बाँकी छ ।

चलचित्रलाई सन्तोष र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् भने छेतन र अभिमन्यू नीरबीको लेखन रहने छ । चलचित्रको स्कृप्ट फाइनल गर्न हाल सन्तोष, छेतन, अभिमन्यु लगायतको टोलि पोखरा पुगेको छ । स्कृप्ट फाइनल भएसँगै अभिनेत्रीहरु पनि फाइन गर्ने सन्तोषले जनाएका छन् ।

मल्टीस्टारर चलचित्र कमेडी जनरामा निर्माण हुने छ । कोरोना भाइरस संक्रमणको जोखिम अन्त्य भएसँगै चलचित्रको छायाँकन आरमभ हुने छ ।

अहिले चलचित्र हलहरु बन्द छन् । कोरोना संक्रमणको जोखिमका कारण हल खुले पनि दर्शकहरु सहजै हलमा आउने वातावरण नबन्ने भन्दै केहीले अब सानो बजेटका चलचित्र बनाएर यो क्षेत्रलाई गतिशिल बनाउनु पर्ने बताइरहेका छन् । तर, सन्तोषले निर्माण गर्न लागेको चचित्रको बजेट उच्च हुने देखिन्छ । दिग्गज देखि स्टार र चल्तिका कलाकार समेत एउटै चलचित्रमा समेट्दा उनीहरुको पारिश्रमिकले मात्र पनि चलचित्रको बजेट उच्च हुने निश्चित छ । यस्तो अवस्थामा सन्तोषले ठुलै आँट गरेको देखिन्छ ।

कोरोनाले ठप्प बनाएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफुले मल्टिस्टारर चलचित्र बनाउन लागेको उनले जनाएका छन् । उनले यो चलचित्रले आफुलाई मात्र नभएर समग्र चलचित्र क्षेत्रलाई चलायमान बनाउन फाइदा हुने जिकिर गर्छन । त्यसो त ‘प्रेमगीत’ सिरिजमा प्रदिपलाई मात्र लिएपछि उनलाई मात्र च्यापेर चलचित्र बनाउने गरेको भन्दै सन्तोष माथी ग्रुपिजमको आरोप पनि लाग्ने गरेको थियो । उनले यो चलचित्रले त्यस्तो आरोप लगाउनेहरुलाई जवाफ पनि दिने बताउँछन् ।

आसुसेनको निर्माणमा सन्तोष र छेतनको निर्देशन रहेको चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनको मुखैमा स्थगित हुनु परेको थियो । गत चैत्र २८ गते प्रदर्शन हुने भनिएको उक्त चलचित्र हल बन्द भएसँगै रोकिन पुगेको हो ।