Mansara

अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन

२०७८ चैत्र १
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन

प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार होलीको शुभकामना सहित एक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको रिलिज धकेलिएको जानकारी दिएको छ । यसअघि चैत्र ११ बाट प्रदर्शनमा आउने भनिएको थियो ।

चलचित्रमा बिक्रम जोशी, प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैरागलगायतका कलाकारको अभिनय रहेको छ । एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्रको यस अघि सार्वजनिक ट्रेलरमा सत्य घट्नामा आधारित भनिएको छ । घट्ना कुन हो नखुलाइए पनि चलचित्रमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको बुझ्न सकिन्छ ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको चलचित्रमा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा र सम्वादमा रहेको छ । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

नेपाल र युकेमा छायाँकन गरिएको चलचित्रलाई हिराल जोशी र बिक्रम जोशीले निर्माण गरेका हुन् । चलचित्रकी कार्यकारी निर्माता सृजना जोशी महर्जन हुन् ।