Modibeni
Numbari Sun

चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

२०८१ जेष्ठ १०
चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ ।

चलचित्रको सार्वजनिक ट्रेलर बाबुछोराको स्नेही सम्बन्धबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा चलचित्रले भन्ने ट्रेलरले बुझाउँछ ।

अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् । त्यसपछि दयाहाङको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

यो सँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा चलचित्रमा छ । दयाहाङको छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको भुमिकामा छिन् ।

अभिनेता दयाहाङ राईले विभिन्न चलचित्र महोत्सवबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो चलचित्रलाई दयाहाङले करिअरकै उत्कृष्ट मध्येको चलचित्रको रुपमा लिएका छन् । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ ।

‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो चलचित्र हो । उनले बनाएको दोस्रो चलचित्र ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

Gharjwai