Mansara

सगरमाथा आरोहण गर्दै अभिनेत्री दीया पुन

२०७८ फागुन २४
सगरमाथा आरोहण गर्दै अभिनेत्री दीया पुन

सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरेका छन् । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् ।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको चलचित्र युनिटले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना समेत दिएको छ । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।झण्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम छ । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् ।

आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस टुगेदर०, उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

चलचित्र ‘मन्त्र’मा दीयासँगै अनस्क्रिन रोमान्स गरेका अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहणबारे दीयाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताए । ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ,’ सौगातले भने ।

अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका अन्य कलाकारले दीयालाई खादा ओढाउँदै सगरमाथा सफल आरोहणका लागि शुभकामना दिए ।

Mahajatra