‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक

२०८० चैत्र २१
‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक

चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत ‘किन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । गीतमा कलाकार दयाहाङ राई र आँचल शर्मा बीचको नोकझोकलाई प्रस्तुत गरिएको ।

रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर रिलिज सँगै चर्चा चुलिएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

चैत्र ३० गतेबाट प्रदर्शन हुने चलचित्रका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ र कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक र शिवराम श्रेष्ठ र राइली एस शिनको छायाँकन रहेको छ ।