दयाहाङ भन्छन् – ‘महाभोज’ केवल कथा होइन, यो एक प्रश्न हो
यही बेला चर्चामा छ जेठ १५ गते बिहीबारदेखि प्रदर्शन हुने चलचित्र ‘महाभोज’ । खासगरी यो चलचित्रको स्टारकाष्ट तथा यसले उठान गरेको सहकारी संस्था भित्रको आर्थिक अनियमितताको कथा धेरैको चासोको विषय बनेको छ ।
चलचित्रले सर्वसाधारणको बचतलाई सहकारीले अपचलन गरेको विषय कुन रुपमा प्रस्तुत गरेको छ भन्ने कौतुहलता पनि उत्तिकै देखिन्छ । अभिनेता दयाहाङ राई चलचित्रले सहकारी मार्फत ठगिएका सर्वसाधारणहरूको कथा भन्ने जनाउँछन् ।
दयाहाङका अनुसार आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने विषय चलचित्रले प्रस्तुत गरेको छ । दयाहाङ भन्छन् – ‘नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।’
उनका अनुसार ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो । यस्तो किन भइरहेको छ ? कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ ? यी र यस्ता प्रश्नहरूको उत्तर चलचित्रले खोजेको छ । दयाहाङले चलचित्रले विषयले सहकारी पीडितलाई मात्र नभएर संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे । उनका अनुसार यो आम जनताको कथा हो ।
‘महाभोज’को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग सङ्घर्ष, पारिवारिक, सामाजिक तथा नैतिक सङ्कटको वरिपरि घुम्छ । चलचित्रले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्ने जनाइएको छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
