Mansara

नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र

२०८० फागुन १४
नृत्यको रेकर्ड राखेकी शेर्पाले लिइन राष्ट्रपतिबाट प्रमाणपत्र

सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राखेकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजार २ सय ७८ मिटर उचाईको सोलुखुम्बुको कालापत्थरमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट एल्टिच्यूड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड(पेयर)’को रेकर्ड राखेका थिए ।

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ (अप्रिल­–मे­)मा सगरमाथासमेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए । ‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’, छिरिङले भनिन – ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

दर्जन म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले चलचित्र ‘कार्साङ’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् ।