Mansara

कमेडियनमाथी प्रदिपको रोष्ट

२०७९ श्रावन ९
कमेडियनमाथी प्रदिपको रोष्ट

आफ्नो छवि बदल्दै चलचित्र ‘प्रकाश’मा परिपक्क कलाकारका रुपमा प्रस्तुत भएका प्रदिप खड्का बुटबलमा भने कमेडियन बनेका छन् । बटुवा कमेडी र कमेडी टुकटुकसंगको सहकार्यमा ‘प्रकाश’ले गरिरहेको कमेडी टुर ‘टेबल मुनीबाट’मा उनी कमेडियन शैलिमा प्रस्तुत भएका हुन् । शुक्रबार र शनिबार बुटबलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

भाद्र १० गतेबाट प्रदर्शन हुने चलचित्र ‘प्रकाश’को प्रमोशनका लागि अभिनेत्रीद्वय दिया मास्के र रेणु योगीका साथ स्टेज चढेका प्रदिप खड्का स्ट्याण्डप कमेडीयन जस्तै सुनिए । उनले स्टेजबाट कार्यक्रममा स्ट्याण्डप कमेडी प्रस्तुत गर्ने कमेडियनहरुलाई नै रोष्ट गरे । खासगरि प्रदिपको निशानामा परे कमडियन आदर्श मिश्रा । त्यसो त गतसाता चितवनमा भएको कार्यक्रममा आदर्शले प्रदिपमाथी रोष्ट गरेका थिए । देशका ६ शहरमा हुने प्रमोशनल कार्यक्रमको यो दोस्रो शहर हो । बाँकी ४ शहरमा प्रदिपमाथी कसले र प्रदिपले कसलाई रोष्ट गर्नेछन् त्यो त हेर्न बाँकी नै छ ।

हजारौं दर्शकहरुको माझ सम्पन्न कार्यक्रममा प्रदिपले कमेडियन माथी रोष्ट गर्नुका साथै चलचित्र ‘प्रकाश’का बारेमा दर्शकहरुलाई जानकारी दिएका थिए । अभिनेत्री दिया मास्के र रेणु योगीले पनि चलचित्रका बारेमा दर्शकलाई बताएका थिए । चलचित्रका कलाकारहरु पनि कमेडि शैलिमा प्रस्तुत हुँदा माहौल थप रमाइलो भएको थियो ।

कार्यक्रममा कमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारीले बिभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बटुवा कमेडी र कमेडी टुकटुकसँगै अगामी साता अर्थात १३ र १४ पोखरामा चलचित्रको प्रमोशनल टुर हुने छ भने, श्रावण २० र २१ बिराटनगर, श्रावण २७ र २८ हेटौडाँमा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

Mahajatra