Mahajatra

सुधारिएको छक्का पञ्जा, सिरियस दिपक – दिपा !

२०७५ असोज २५
सुधारिएको छक्का पञ्जा, सिरियस दिपक – दिपा !

यतिबेला चलचित्र बजार छक्का पञ्जामय बनिरहेको छ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पञ्जा ३ ले आक्रामक व्यापार गरिरहेको छ । जसरी व्यवसायिक सफलता हात पारिरहेको छ त्यसैगरि चलचित्रले उत्साहजनक प्रतिक्रिया पनि बटुलिरहेको छ ।

यसअघिका सिरिजहरुमा खासगरि चलचित्रकर्मी र समिक्षकहरुबाट आलोचना खेप्ने गरेको निर्माण युनिटले यसपटक प्रसंसा पाइरहेको छ । समिक्षकहरुले निर्माण कम्पनि आमा सरस्वति गिता देवि फिल्मस्को टिम चलचित्र निर्माणमा सिरियस भएको प्रमाणका रुपमा छक्का पञ्जा ३ लाई लिएका छन् । यसको अर्थ अघिल्ला चलचिहरुमा भन्दा यसपटक अव्वल रहेको भन्ने है हो ।

त्यसो त निर्माता तथा कलाकार दिपकराज गिरीले चलचित्र रिलिज पूर्व सफलताले जिम्मेवारी थपेको भन्दै यसपटक आफुहरु सिरियस फिल्म मेकरका रुपमा अघि आएको बताएका थिए । उनको संकेत पनि अघिल्ला चलचित्रमा आएका आलोचनाहरुलाई मनन् गरेर यसपटक सुधारिएको भन्ने नै थियो । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उनको भनाईलाई पुष्टि गरिरहेको छ ।

शिक्षा क्षेत्रमा हुने राजनिति प्रति लक्षित चलचित्रले शैक्षिक प्रणलिमाथी व्यङ्य गरेको जनाइएको छ । यसअघिका चलचित्रमा विषय वस्तुमाथीको प्रस्तुति फितलो अनि कमेडी मात्र ज्यादा रहेको आरोप लाग्ने गरेको थियो । सायद यसैले होला यसपटक कमेडीको मात्र कम गरि अन्य विषयमा निर्माण पक्षले ध्यान दिएको देखिन्छ । हुन त चलचित्रले सत प्रतिशत सकारात्मक प्रतिक्रिया मात्र पाएको भन्ने होइन । मिश्रीत प्रतिक्रिया पाएको छ । नेगेटिभ स्याडोका प्रतिक्रियालाई दिपकले फरक मतको सम्मान गर्ने भनेका छन् ।

चलचित्र पत्रकार, समिक्षक तथा निर्देशक दिपेन्द्र लामा छक्का पञ्जा ३ अघिल्ला दुई शृङ्खलाभन्दा सुधारिएको बताउँछन् । समाजिक सञ्जालमा स्टाटस् लेख्दै दिपेन्द्रले भिजुयल ल्यांग्वेजको मामिलामा भने केही कमजोरी रहेको उल्लेख गरेका छन् । उनले दीपक–दीपा क्याम्पले यस पटक देखि चलचित्रलाई अलि सिरियस्ली नै लिन थालेको महसुस भएको जनाएका छन् ।

त्यसो त अर्का पत्रकार शुशिल पौडेलले पनि उनीहरु सिरियस भएको संकेत गर्दै एक स्टाटस् लेखेका छन् । उनले सिधै छक्का पञ्जा भनेर त उल्लेख गरेका छैनन् तर कुन सन्दर्भमा को प्रति लक्षित गरे भनेर बुझ्न गाह्रो पर्दैन । जननिर्वाचित प्रतिनिधीले राजिनामा दिएको र निर्वाचनमा हार व्यहोरेका नेतालाई जिताउन सो स्थानमा उपनिर्वाचन हुने चर्चालाई समेत उनले व्यङ्य गरेका छन् । शुशिलले लेखेका छन् – ‘बरू हॉस्य कलाकार गम्भीर हुन थालिसके, नेताहरू कमेडी गर्न छोड्दैनन् ।’

अर्का पत्रकार गोकर्ण गौतम भने अलिक फरक मत राख्छन् । उनले पनि सामाजिक सञ्जालमै स्टाटस् लेख्दै चलचित्र बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । गोकर्णले सबैभन्दा बढी बिक्रि हुने भनिएको चाउचाउसँग छक्का पञ्जाको तुलना गरेका छन् । गोकर्णले लेखेका छन् – ‘छक्का–पञ्जा र वाईवाई चाउचाउ उस्तै रहेछ । क्रेज नघट्ने, क्वालिटी नबढ्ने ।’

सकारात्मक कमेण्टहरुमा दिपक–दिपा दुवैले धन्यबादका शव्द प्रयोग गरेका छन् । अनि अर्को पल्ट कमी कमजोरीहरुलाई सुधारर्ने उल्लेख गरेका छन् । यता नेगेटिभ स्याडोका प्रतिक्रियामा भने फरक मतको सम्मान भन्दै भविष्यमा सुर्धादै जाउला भनि लेखेका छन् ।

दर्शकले त हिजो पनि उनीहरुका चलचित्र मन पराएकै थिए, आज पनि मन पराएका छन् । जसका कारण हरेक चलचित्रले सफल व्यापार गरिरहेको छ । तर यसपटक भने चलचित्रकर्मी र पत्रकारहरुबाट समेत सकारात्मक प्रतिक्रिया आएको छ । सायद दिपक–दिपाले आफ्नो कामलाई सुधार गरेरै होला ।