Mansara

चलचित्र ‘बोक्सीको घर’को गीत सार्वजनिक

२०८० चैत्र ८
चलचित्र ‘बोक्सीको घर’को गीत सार्वजनिक

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरिएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । चलचित्र आगामी वैशाख १४ गते रिलिज हुँदैछ ।

गीतको भिडियोमा अभिनेत्री केकी र निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टिजरले राम्रै चर्चा पाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो चलचित्र निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सुलक्षणकै लेखन रहेको चलचित्रका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।