काग्रेस महामन्त्री शर्माको संगीतमा ‘बिगुल’को गीत

२०८२ बैशाख ५
काग्रेस महामन्त्री शर्माको संगीतमा ‘बिगुल’को गीत

चर्चित युवा नेता तथा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले चलचित्रको गीतमा संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने चलचित्र ‘बिगुल’को एक गीतमा शर्माले संगीत सृजना गरेका हुन् ।

सामाजिक तथा राजनीतिक बिषयमा निर्माण हुने जनाइएको चलचित्रमा शर्माले ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत सृजना गरेका हुन् । शर्माकै शब्द रहेको गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको छ । गीतमा राजेश पायल राईले स्वर दिएका छन् ।

‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने – ‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द, संगीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा बन्ने चलचित्रमा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकारको अभिनय रहने छ । कल्पना पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा शिब ढकालको छायाँकन, दिनेश कोइरालाको कथा, र मौनता श्रेष्ठको पटकथा र संवाद रहने छ ।

बैशाख तेश्रो साताबाट छायाँकन सुरु हुने चलचित्रका गीतमा बिश्वप्रकाशका साथै अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।