Mansara

लेन्सनेपालकर्मी सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार

२०७९ आषाढ ५
लेन्सनेपालकर्मी सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार

लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी चलचित्र पत्रकारिता पुरस्कार–०७९ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सवको अवसरमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुबेदीलाई ५१ हजार राशी सहितको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।

सुबेदीसँगै सोही पुरस्कारबाट पत्रकार नेमिष गौतम पनि पुरस्कृत भएका छन भने चलचित्र पत्रकारिता सम्मान–०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । त्यस्तै, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–०७९ फोटोपत्रकार उद्दव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार–०७९ हेटौंडाका श्रीराम अर्जुनलाई प्रदान गरियो ।

समारोहमा संघले कोरोना महामारीका कारण रोकिएको अघिल्ला दुई वर्षको पुरस्कार र सम्मान पनि वितरण गरेको थियो ।

०७८ सालको चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार सुव्रतराज आचार्य र सन्दीप सापकोटा सम्मनित भएका छन् । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए । यस्तै चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मनोज न्यौपाने र सोही वर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कार पोखराका रेम रसाइलीलाई प्रदान गरियो ।

यस्तै ०७७ सालको चलचित्र पत्रकारिता सम्मान २०७७ बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर. डि. शृंखलालाई चलचित्र पत्रकारिता पुरस्कार २०७७ प्रदान गरियो ।

संघका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा राजेश हमाललगायत फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Mahajatra