अर्को दशैंमा विराजको ‘१२ गाउँ २’ रिलिज हुने, समीर र विराजको मुख्य भूमिका

२०८२ श्रावन ३१
अर्को दशैंमा विराजको ‘१२ गाउँ २’ रिलिज हुने, समीर र विराजको मुख्य भूमिका

अभिनेता विराज भट्टले चलचित्र ‘१२ गाउँ’को सिक्वेल बनाउने भएका छन् । उनले गत पुषमै चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिइसकेका छन् । यही वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य सहित ‘१२ गाउँ २’ निर्माणको तयारी विराज जुटेका थिए । तर, छोरा समीर भट्टको अर्को चलचित्र ‘बलिदान’को छायांकन लम्बिँदा यो वर्षको दशैंमा त्यही चलचित्र रिलिज हुने भयो । जसका कारण विराजले तत्कालका लागि ‘१२ गाउँ २’को छायाँकन थाती राख्दै बाहिरी ब्यानरको ‘रामनाम सत्य’मा काम गर्न लागेका छन् ।

गत दशैंमा प्रदर्शन भएको विराज निर्देशित तथा अभिनीत चलचित्र ‘१२ गाउँ’ले बक्स अफिसमा ठूलो सफलता पाएपछि हौसिएका उनले अर्को वर्षको दशैं मै यसको सिक्वेल रिलिज गर्ने भएका हुन् । ‘रामनाम सत्य’को मूर्हत पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विराजले २०८३ सालको दशैंमा ‘१२ गाउँ २’ प्रदर्शनमा आउने जनाएका हुन् ।

उनले सिक्वेलमा पनि बाउ–छोराले एकसाथ काम गर्ने जनाएका छन् । अर्थात चलचित्रमा विाज र समिर दुवैको मुख्य भूमिका रहने छ । चलचित्रलाई विराज स्वयंले निर्देशन गर्नेछन् । ‘१२ गाउँ २’बाट विराजले आफ्नो कान्छो छोरालाई चलचित्रमा डेब्यु गर्न लागेको चर्चा पनि चलिरहेको छ । तर, विराजले यसमा सत्यता नभएको बताएका छन् । उनले भने, ‘अहिलेसम्म उसलाई ल्याउने कुनै सोच छैन । ऊ अलि सानै छ । चलचित्रमा आउने बेला भइसकेको छैन । बाउ र दाई दुवै यही क्षेत्रमा भएकाले उसलाई चलचित्रप्रति रुचि भने छ । बाँकी कुरा समय आएपछि सबै थाहा भइहाल्छ ।’