चलचित्र बिकास बोर्डले दियो २६ हललाई तालिम

२०८२ मंसिर ८
चलचित्र बिकास बोर्डले दियो २६ हललाई तालिम

चलचित्र हललाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्र्तगत पहिलो चरणको प्रशिक्षण मंसिर १ देखि ७ गतेसम्म सञ्चालन गरेको हो ।

पहिलो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा सिनेमा हलका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ। तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।

उक्त तालिम बोर्ड सदस्य गणेश प्रसाद सुवेदी, अधिकृत दिनेश बानियाँ, प्रविन पाण्डे तथा एष्टर इनोभेसन प्रा।लि। का प्रशिक्षक सेरफ लामाको टोलीले सञ्चालन गरेको थियो।

नेपाली चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले यस आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेको छ । सोही अभियानअन्तर्गत बोर्डले आफ्नै प्रमुख आयस्रोत चलचित्र विकास शुल्कलाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न बनाइएको चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो।