‘वसन्त’को अग्रीम बुकिङ खुला, उत्साहजनक शो

२०८१ चैत्र २०
‘वसन्त’को अग्रीम बुकिङ खुला, उत्साहजनक शो

शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । चलचित्रका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उत्साहजनक शो दिएका छन् ।

देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा चलचित्रलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ ।  

प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्रलाई आइएनआइ सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ। वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ । त्यस्तै एफक्युबले ५ शो, बिग मुभिजले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ । चलचित्र रिलिज हुने समय एक दिन बाँकी रहेको हुँदा बिहीबार साँझसम्म शोहरु थपिन सक्छन् ।

नेपाल र विदेशमा एक साथ रिलिज हुने चलचित्र ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

यसैबीच, चलचित्र ‘वसन्त’ सेन्सर पास भएको छ । चलचित्रलाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको छ। युनिभर्सल सर्टिफिकेट पाएसँगै हरेक उमेर समुहका दर्शकले चलचित्र हेर्न पाउने छन् ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)