पोष्टर सार्वजनिक गर्दै आउने दशैका लागि ‘बलिदान’को रिलिज घोषणा
चलचित्र ‘बलिदान’को रिलिज मिति औपचारिक रूपमा घोषणा भएको छ । चलचित्रलाई २०८२ सालको फूलपाती अर्थात असोज १३ गते रिलिज गर्ने घोषणा गरिएको छ । प्रमुख कलाकार समीर भट्टको दुई पोस्टर लुक्स सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।
निर्देशक सन्तोष सेनले चलचित्र नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
सार्वजनिक गरिएको एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठुलो हतियार बोकेका छन्, जहाँ उनी आफ्नो लक्ष्य पुरा गरेपछिको भावमा देखिएका छन् । दोस्रो पोस्टरमा समीर यत्रतत्र छरिएका लासहरूको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाई लतारिरहेका छन् ।
निर्देशक सेनका अनुसार ‘बलिदान’ निर्माणको निर्णय लिनु मात्र सहज थिएन, यसको तयारी, छायाङ्कन र सम्पादन प्रक्रियामा टिमले अपार मेहनत गर्नुपरेको छ । उनले भने, “जब मैले यो चलचित्र निर्माण गर्ने सोच बनाएँ, तब यति ठुलो बलिदान दिनुपर्छ भन्ने कल्पनासम्म गरेको थिइनँ । जीवनभर बगाएको रगतपसिनामध्ये सबैभन्दा धेरै यसैमा बगाएको महसुस भएको छ ।”
चलचित्रको कथा लेखकहरूसँगको निरन्तर संवादपछि तयार पारिएको सेनले जनाए । उनका अनुसार यो कुनै एउटा समयको कथा मात्र नभई, हिजो, आज र भोलीसम्मको सन्देश बोकेको छ । शोषित वर्गको आवाज बुलन्द पार्न कुनै सम्झौता नगरिएको उनले बताएका छन् । कलाकार छनोटदेखि प्रविधि र प्रविधिजन्य पक्ष, निर्माण व्यवस्थापन, गीतसङ्गीत र सम्पादनसम्म उच्च स्तरको बनाउन अहोरात्र परिश्रम गरिएको उनले उल्लेख गरे । सेनले चलचित्रको प्रिप्रोडक्सन प्रक्रिया अब पूर्ण भएको र पोस्टप्रोडक्सनको लागि दक्षिण भारतीय चलचित्र उद्योगको प्रविधि र सीप उपयोग गरिरहेको बताए ।
चलचित्रको ‘फर्स्ट ल्यान्डिङ’ प्री–टिजर एक वर्षअघि सार्वजनिक गरिएको थियो, जसमा २०८१ सालको फूलपातीलाई रिलिज मिति तोकिएको थियो । तर, अझ उत्कृष्ट प्रस्तुति दिनका लागि एक वर्षको थप समय लिइएको सेनले प्रस्ट्याए । उनले भने, “हामीले निर्माणको कुनै पक्षमा सम्झौता गर्न चाहेनौँ, त्यसैले थप समय लिनु उपयुक्त ठान्यौँ ।”
चलचित्रमा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । विशेष गरी, चलचित्रको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसले निकै चर्चा बटुलेको थियो ।
चलचित्रमा समीर सहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको सङ्गीत आर्टमान्डु टिम को सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले चलचित्रका गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरिरहेको छ ।
‘आसुसेन फिल्म्स् प्रा.ली.’को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
