Mahajatra

किन दोहोरिदैनन् अनमोलसँग नायिकाहरु, अनमोल भन्छन् – नायिकाको सिफारिस गर्दिन

२०७५ फागुन १५
किन दोहोरिदैनन् अनमोलसँग नायिकाहरु, अनमोल भन्छन् – नायिकाको सिफारिस गर्दिन

अनमोल केसीको फिल्मोग्राफीलाई हेर्ने हो भने कुनै पनि नायिकासँग रिपिट काम गरेका छैनन् । डेव्यु चलचित्र होस्टेल देखि ए मेरो हजुर ३ सम्मै न त अनमोलले नायिकासँग दोस्रो पटक काम गरे न त स्थापित नायिकासँग नै काम गरे । अनमोलसँगका हरेक चलचित्र नायिकाका लागि डेव्यु नै भए ।

डेव्यु चलचित्र होस्टेलमा प्रकृति श्रेष्ठ, जेरीमा अना शर्मा, ड्रिम्स मा साम्राज्ञी राज्य लक्ष्मी शाह, गाजलुमा श्रृष्टि श्रेष्ठ, कृमा अदिति बुढाथोकी, क्याप्टेनमा उपासना सिंह ठकुरी र प्रियंका एमभी र ए मेरो हजुर ३ मा सुहानी थापासँग अनमोलले काम गरेका छन् । यि सबै नायिकाका लागि उल्लेखित चलचित्र नै डेव्यु चलचित्र हुन । प्रदर्शन हुन बाँकी क्याप्टेन र ए मेरो हजुर ३ लाई छोडेर हेर्दा प्रकृति, आना र साम्राज्ञीसँग अनमोलको केमेष्ट्री गज्जब देखिएको चर्चा नभएको पनि होइन । तर, कुनै पनि नायिका रिपिट हुन सकेनन् । अनमोल भने यसमा आफ्नो भुमिका नभएको बताउँछन् ।

हालैको एक दिन क्याप्टेन अभिनेत्री उपासनासँगै मिडियामाझ प्रस्तुत भएका अनमोलले यस्तै प्रश्नको सामाना गर्नुपर्यो । जहाँ उनले आफुले अहिले सम्म कुनै नायिकालाई सिफारिस नगर्ने गरेको जनाए । नायिकाको सवालमा आफु अक्सर मौन रहने गरेको र टिमले छनौट गरेपछि मात्र आफ्नो बिचार राख्ने बताए । सँगै रहेकी उपसाना तर्फ देखाउँदै उनले भने – ‘उसलाई पनि सोध्नुभए हुन्छ मैले सिफारिस गरेको होइन । टिमले नै खोजेर ल्याएको हो ।’ आफुले यो नायिका हुन्छ त्यो नायिका हुन्न भने नगरेको भन्दै उनले स्कृप्ट अनुसार टिमले छनौट गरेको नायिकासँग आफुले काम गर्ने बताए । त्यसो भए उपासनासँग फेरी काम गर्ने सम्भावना कति छ त ? अनमोलसँग यो प्रश्नको पनि उही रेडिमेट जवाफ छ – ‘दुबैका लागि उपयुक्त रोल भएमा काम गर्ने सम्भावना सबैसँग छ ।’

यता उपासनाले समेत अनमोलसँग फेरी काम हुने नहुने कुरा स्कृप्टमै भर पर्ने बताइन । उनले स्कृप्टमा आफुहरुका लागि उपयुक्त भुमिका भएमा फेरी पनि काम गर्न पाइएला भन्ने आशा समेत राखेकी छिन । त्यसो त अनमोलसँग काम गर्न पाउनु सुखद कुरा भएपनि आफ्नै कामले आफु चिनिनु पर्ने उनको जिकिर छ । ‘अनमोल एउटा दुइटा चलचित्रमा सँगै होला त्यसपछिको बाटो त आफै कामले निर्धारण गर्छ’ उनले भनिन् ।

अनमोल अभिनित चलचित्र क्याप्टेन आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । स्पोर्टस् जनराको यो चलचित्रमा अनमोल फुटबलरको भुमिकामा देखिएका छन् । गीतसंगीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहदा क्याप्टेन प्रतिक्षित चलचित्र बनेको छ ।