काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
बिदेश र धरान पछि काठमाडौंमा चलचित्र ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर गरिएको छ । सोमबार साँझ राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, पत्रकार सहित बिभिन्न बिशिष्ठ ब्यक्तीहरुले चलचित्र हेरेका छन् ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा चलचित्र बनेको छ । प्रिमियरमा धेरैले निर्देशक मिलन चाम्सको अहिले सम्मकै उत्कृष्ट चलचित्र भन्दै प्रतिक्रिया दिएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू प्रकाश सुवेदी, टिकाराम यात्री, डब्बु क्षेत्री, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू र पत्रकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाजमा भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा चलचित्रका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।
फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बने । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक चाम्सको प्रशंसा गरिएको छ ।
आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो चलचित्रले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । पूर्व कप्तान गणेश थापाले चलचित्र हेर्दा आफू ३–४ पटक रोएको बताए । थापाले पूर्व सशस्त्र प्रहरी उपरीक्षक तथा यस चलचित्रका निर्माता एवम् कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैँ माया गर्ने व्यक्तिको रूपमा व्याख्या गरे । पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिए ।
चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जनाइन् । चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिए । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाए । अभिनेत्री अलिशा राईले चलचित्रले जीवन जिउन पनि सिकाउने बताइन् । अभिनेता प्रशान्त ताम्राकारले गाउँ ठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एन्जिलाको जस्तै सङ्घर्षशील रहेको बताए । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली दर्शकले चाहेको जस्तो चलचित्र रहेको बताए ।
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको जनाए । निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए ।
यसअघि यस चलचित्रको हङकङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो । चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सहनिर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
