Mansara

दर्शकले कुरिरहेको आर्यनको ‘डिसेम्बर फल्स’ !

२०७९ पौष ३
दर्शकले कुरिरहेको आर्यनको ‘डिसेम्बर फल्स’ !

नायक आर्यन सिग्देल ३ वर्ष पछि ठुलो पर्दामा फर्कदैछन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १५ गतेबाट उनी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ सार्वजनिक हुँदैछ ।

हुन त कोरोना कहरका कारण साढे एक वर्ष जस्तो चलचित्र क्षेत्र पूर्ण रुपमा प्रभावित भयो । जसका कारण ३ वर्षको अन्तर खासै अस्वभाविक होइन । तर, नायक आर्यन सिग्देलका फ्यानहरुका लागि भने यो लामै प्रतिक्षा बन्यो । सायद यसैले होला उनका फ्यानहरु  ‘डिसेम्बर फल्स’को प्रर्खाइमा देखिएका छन् ।

गत विहिबार चलचित्र ट्रेलर सार्वजनिक गरिएको छ । युट्युव मार्फत सार्वजनिक ट्रेलरमा भ्यूज औसत देखिए पनि दर्शक प्रतिक्रिया उत्कृष्ट छ । धेरैले चलचित्रको ट्रेलरको तारिफ गरेका छन् । आर्यनका फ्यानहरु भने उनको कमब्याक भन्दै चलचित्र हेर्न आतुर देखिएका छन् । हिरोको परिभाषमा फिट भएर पनि अभिनयमा प्रखर अभिनेता हुन आर्यन सिग्देल । युट्युबका कमेण्टहरु हेर्दा उनको अभिनयको दर्शकहरुले मुक्त कण्ठले तारिफ गरेको पाइन्छ । यतिमात्र होइन दर्शकहरुले यो चलचित्र पछि आर्यन सिग्देलको क्रेज पुरानै लयमा फर्कने बिश्वास समेत राखेका छन् ।

केही वर्ष अघि सम्म नम्बर वान नायकको रुपमा स्थान बनाएका आर्यनका चलचित्र पछिल्लो केही समय यता भने उल्लेख्य रुपमा सफल हुन सकेका थिएनन् । यद्यपी यो चलचित्र सफल हुनेमा दर्शकहरु नै विस्वस्त छन् । त्यसो त निर्माताले पनि चलचित्रलाई उत्कृष्ट बनाउन सकेको कोसिस गरेको देखिन्छ । यसअघि सार्वजनिक भएका सामग्रीहरुलाई हेर्दा पनि प्रोडक्सनमा कुनै कम्प्रोमाइज्ड गरेको देखिदैन ।

भारतीय फिल्म उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाले निर्देशन गरेको चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ । महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

चलचित्रमा आर्यन र उपासनाका अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरी पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायत कलाकारको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् । चलचित्रमा बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा र सम्वाद रहेको छ । बनिष शाहको सम्पादन रहेको चलचित्रमा दिपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ ।