बैशाखमा ५ चलचित्र रिलिज हुँदै, कथा भने फरक–फरक

पहिलो साता कुनै पनि चलचित्र रिलिज नभए पनि बैशाख महिनामा ५ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’का कारण पहिलो साता अन्य चलचित्रले प्रदर्शन मिति तोक्न नसकेको अनुमान लगाउन गाह्रो छैन ।
यो चलचित्रमा चल्तिका कलाकारहरुको बलियो लाइनअप हुनु, चलचित्रका प्रचार सामग्रीले दर्शक माझ हाइप बनाउनु र मेकिङ्गको प्रसंसा हुँदा अन्य मेकरहरु अर्को साता आफ्नो चलचित्रको प्रदर्शनका लागि केही हस्किए । उत्साहजनक ब्यापार गरेपनि ‘पिताम्बर’ हेर्न दर्शकको उपस्थिति सोचे जस्तो हुन सकेन । सँगै रिलिज भएको अर्को चलचित्र ‘कर्मा’ त हलमा आए गएको कतिले पत्तै पाएनन् ।
वैशाखको दोस्रो साता बाट भने धमाधम नयाँ चलचित्रहरु रिलिज हुँदैछन् । १२ गते शुक्रबार ‘भूठान’ र ‘खेल’ गरेर दुई चलचित्र रिलिजको तयारीमा छन् । यस्तै तेस्रो साता अर्थात् १९ गते चलचित्र ‘झिल्को’ प्रदर्शन हुँदैछ । यता वैशाखको अन्तिम साता अर्थात २६ गते शुक्रबार ‘ऊनको स्वीटर’ र ‘जार’ गरि दुई चलचित्र रिलिज हुदैछन् । अहिले सम्मको अवस्था हेर्दा ‘झिल्को’ले सोलो रिलिजको अवसर पाएको छ । यद्यपी कुनै चलचित्र प्रचार विना नै रिलिज नहोला भन्न चाँही सकिदैन ।
बैशाखमा ५ चलचित्र रिलिज हुँदै गर्दा चलचित्र ‘ऊनको स्वीटर’ बाहेक अन्य चलचित्रको चर्चा परिचर्चा भने खासै छैन । निर्माण घोषणा बाट नै चर्चामा रहेको चलचित्र अहिले प्रतिक्षित मध्येको एक हो । यो चलचित्रको टिजर तथा गीत संगीत प्रति दर्शकको क्रेज राम्रै देखिन्छ । यदि ति दर्शकहरु वास्तवमै चलचित्र हेर्न आतुर हुन भने चलचित्र सफल हुने विश्वास गर्न सकिन्छ । विगतमा केही चलचित्रका गीत संगीत हिट भएर पनि चलचित्र नचलेका उदाहरण भएकोले प्रचार सामग्रीमा देखिएको क्रेजकै कारण ब्यापारमा उछाल कायम गर्छ भनेर भन्न सकिदैन । नवीन चौहानको निर्देशन रहेको चलचित्र मौलिक कथामा निर्माण भएको छ । केही दशक अघि कायम रहेको अटो भर्ने शैली तथा अन्तरजातिय प्रेमको कुरा चलचित्रमा रहेको सार्वजनिक प्रचार सामग्रीले जनाएका छन् ।
यस्तै सोहि दिन रिलिज हुने ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनामा आधारित भनिएको चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
वैशाखमा रिलिज हुने चलचित्रले फरक – फरक स्वादका कथा भन्नेछन् । आउने शुक्रबार रिलिज हुने चलचित्र ‘खेल’को कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण भएको बताइएको छ । बलिउडमा समेत सह–निर्देशनको अनुभव संगालेका अनुराग प्रधान र लामो समयदेखि नेपाली चलचित्रमा सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रुपमा यो चलचित्रको निर्देशन गरेका हुन् । यस्तै अर्को चलचित्र ‘भूठान’लाई बिनोद पौडेलको निर्देशन गरेका हुन् । चलचित्रले तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका भुटानी शरणार्थीको कथा भन्नेछ ।
तेस्रो साता प्रदर्शन हुने चलचित्र ‘झिल्को’ले बालबालिकामा डिजिटल कुलतको प्रभावको कथा भन्नेछ । यादव भट्टराईको निर्देशन रहेको चलचित्रले प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश दिने जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi