'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को सद्भावना दूतमा प्रदिप र सुरक्षा
नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले 'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने महोत्सवले "घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।
महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्त्वाकाङ्क्षी योजना बनाएको छ । महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै 'रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट' आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।
चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र 'प्रेम गीत २' को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्याएको प्रभावको चर्चा गरे ।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र 'बुलाकी' मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।
दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा 'कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह' हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा 'रारा चलचित्र पर्यटन तथा जलवायु समिट' आयोजना हुनेछ ।
महोत्सवमा चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, र नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न निकायहरूको सहकार्य छ ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
