Mansara

बैंककमा ‘सयकडा दश’को प्रिमियर, दशर्कले दिए उत्साहजनक प्रतिक्रिया

२०७५ माघ १५
बैंककमा ‘सयकडा दश’को प्रिमियर, दशर्कले दिए उत्साहजनक प्रतिक्रिया

बैंककमा चलचित्र ‘सयकडा दश’को प्रिमियर गरिएको छ । स्थानिय मेजर एकमाइ हलमा आयोजित प्रिमियरमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि उपस्थित दर्शकहरुले चलचित्रको प्रसंसा गरेका छन् । चलचित्रले मनोरञ्जन दिनुका साथै सन्देश पनि प्रवाह गरेको उनीहरुको प्रतिक्रिया छ ।

थाइ नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्यान्डका नेपाली भाषी उपस्थित थिए । नेपालदेखि प्रिमियरमा सहभागी हुन कार्यकारी निर्माता समेत रहेका अभिनेता राजाराम पौडेल पुगेका थिए । बर्मेली अभिनेत्री सोनिया राईको समेत डेब्यु चलचित्र भएकाले सय कडा दशलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । प्रिमियरमा पौडेल र एक्ट्रेस राई आकर्षण बने । थाइल्यान्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्की लगायत तीनसय बढीले प्रिमियर शोमा चलचित्र हेरेका छन् ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले मप्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई फिल्म हेर्न आग्रह गरे । उनी प्रिमियरपछि प्राप्त प्रतिक्रियाले खुशि छन् ।

नेपालमा भने यो चलचित्र आगामी शुक्रबारबाट प्रदर्शन हुँदैछ । रामशरण पाठक निर्देशित चलचित्र मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई भष्ट्रचार भर्सेज लभ भनिएको छ ।