ओटीटीमा रिलिज भयो ‘ऊनको स्वीटर’

२०८२ असोज ५
ओटीटीमा रिलिज भयो ‘ऊनको स्वीटर’

चलचित्र ‘ऊनको स्वीटर’ ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । गत वैशाख २६ गते बाट चलचित्र हलहरुमा प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको थियो । चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन् ।

नवीन चौहानको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन् ।

आर्टमान्डूले निर्माण गरेको  ‘ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको चलचित्र देशभरका करिब ४० वटा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो ।