Mansara

२ लाख पुरस्कारको छोटा चलचित्रको प्रतिष्पर्धा घोषणा

२०७९ माघ १३
२ लाख पुरस्कारको छोटा चलचित्रको प्रतिष्पर्धा घोषणा

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटा चलचित्रहरुको प्रतिष्पर्धा हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा चलचित्र निर्माणमा रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेकाहरुलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको छ ।

कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले छोटा चलचित्रलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भए पनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए ।

प्रतिस्पर्धामा सहभागी हुन चाहनेले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका मध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।