Khusma
Devi
Rawayan

‘रावायण’को ‘काल्का’ चरित्रमा लोभिएका प्रकाश

२०८१ भाद्र १३
‘रावायण’को ‘काल्का’ चरित्रमा लोभिएका प्रकाश

कलाकार प्रकाश शाह चलचित्र ‘साङ्लो’ पछि यही भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘रावायण’मा देखिँदैछन् । सुदर्शन थापा निर्देशित चलचित्रमा उनी तराई मूलका ‘काल्का’ चरित्रमा छन् ।

सुदर्शन करियरकै केही फरक चलचित्र बनाउन चाहन्थे, प्रकाश पनि फरक चरित्र निभाउन चाहन्थे । सुदर्शनले प्रकाशलाई उनको चरित्र सुनाउँदा उनी छक्क परे । ‘फरक चरित्र निभाउने मेरो चाहना रावायणको कथा सुनेपछि पुरा हुनेमा म ढुक्क भएँ । किनकी सुदर्शन दाईले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा थियो’, प्रकाश भन्छन् ।

प्रकाशका अनुसार ‘काल्का’ चरित्र कालको पनि काल हो । ‘मलाई प्रमोद अग्रहरी दाईको ‘आलम’ चरित्रका लागि कुरा गरिएको थियो । तर, स्क्रिप्ट पढेपछि म ‘काल्का’मा लोभिएँ । किनकी यो चरित्र जति शक्तिशाली छ, त्यो चरित्र निभाउन त्यति नै चुनौतीपूर्ण पनि थियो’ प्रकाश भन्छन् ।

प्रकाश कैलाली, टीकापुरका हुन् । तर चलचित्रमा उनले वीरगञ्जमा बस्ने भोजपुरी देहाती चरित्र निभाएका छन् । चरित्रका लागि उनले गरेको मेहनत पनि कम छैन । ‘म पश्चिमको ठकुरी, तर चलचित्रको क्यारेक्टर चाहिँ टिपिकल भोजपुरी देहाती छ । सुदर्शन दाईसँग सहकार्यको कुराकानी पछि चरित्रकै लागि काठमाडौंबाट वीरगञ्ज गइहालें । मलाई देहातीबारे केही थाहा थिएन, पश्चिमको चौधरी बारेमा मात्र आइडिया थियो । म वीरगञ्जमा १० दिन बसें । त्यो बसाईमा देहातीले कस्तो लुगा लगाउँछ, कसरी बोल्छ भन्ने बुझें’, प्रकाश सम्झन्छन् । प्रकाशका अनुसार वीरगञ्ज बसाईंका क्रममा त्यस क्षेत्रमा १०–१० किलोमिटरको फरकका गाउँमा पनि फरक फरक भाषा हुँदो रहेछ भन्ने थाहा पाए । त्यसपछि उनी थप भाषा बुझ्न परासी निस्किए ।

चलचित्रमा प्रकाशको लुक्स टिजर र ट्रेलरमा प्रष्ट देखिएको छ । तर यो लुक्स निकाल्न उनको मेहनत कम छैन । ‘क्यारेक्टरकै लागि तीन महिनासम्म दाह्रीजुँगा र कपाल काटिनँ । कपाल पनि स्थानीय देहातीकै जस्तो बनाएँ । मैले मुख धुने, नुहाउने काम गरिनँ । म जतिसक्दो फोहोरी देखिन चाहन्थें । मैले केही न केही देखाउनुपर्छ, यो मेरो लागि पनि राम्रो हो भन्ने थियो । मेरो जीवन र करियरमा यो क्यारेक्टरले अभिनेताका रुपमा स्थापित गराउँछ भन्नेमा म ढुक्क थिएँ’, प्रकाश भन्छन् ।

प्रकाशले देहातीले के गर्छन् भन्ने बुझ्न स्थानीय वास्तविक मान्छेसँग घुलमिल हुने प्रयास गरे । भलै उनले आफूलाई कलाकारको रुपमा चिनाएनन् । ‘आफ्नै हिसाबले चिया खान जाने, उनीहरुको बोलीचाली बुझ्ने, हिँड्ने शैली हेर्थें । अनि राती होटलमा आउँथे । उनीहरुको बोली कमाण्डिङ शैलीको हुँदो रहेछ । त्यहाँ सबैको नेचर त्यस्तै देखें’ उनी भन्छन् ।

प्रकाशले चलचित्रमा युवा र बढी उमेरको चरित्र निभाएका छन् । तर त्यो चरित्र दोहोरो भने होइन । ‘मलाई दर्शकले दुई फेजमा देख्न सक्नुहुन्छ, एउटा युवा र अर्को बुढो उमेरको । युवावस्थामा हुँदा त्यो एरियामा मेरो वर्चस्व नै हुन्छ, भनौं न जंगलको राजा जस्तै । समयसँगै ऊ शक्तिबिहिन हुँदै जाँदा भैसीपालन तिर लाग्छ । कान्छाको आगमन भइसकेपछि ऊ पुनः पुरानै काममा फर्कन्छ’, प्रकाश खुल्छन् ।

चलचित्रमा उनको र निकिता चण्डकको एक आइटम गीत छ । प्रकाशका अनुसार ‘काल्का’ चरित्र नाँचगानमा पनि उत्तिकै रमाउँछ । ‘त्यो आइटम गीतको सुटिङ हेर्न आएका स्थानीयहरु मलाई देखेर भाग्थे । मेरो लुक्स देखेर बच्चाहरु तर्सिन्थे । त्यो चाहिँ मेरो लागि एकदमै खुशीको क्षण थियो । मैले कुन तहको काम गरेको रहेछु भन्ने अनुभव हुन्थ्यो’, उनी भन्छन् ।

चलचित्रको टिजर हेरेपछि अभिनेता तथा निर्देशक विराज भट्टले उनको कामको तारिफ गरेको सम्झँदा प्रकाश निकै खुशी छन् । ‘विराज दाईले ‘तैले एकदमै बबाल काम गरेको रैछस् । तैले राम्रो गर्छस् भन्ने थाहा थियो, तर यस्तो नसोचेको काम गर्छस् भन्ने चाहिँ लागेको थिएन’ भनेको अझै सम्झन्छु’, प्रकाश भन्छन् ।
प्रकाशलाई ‘काल्का’ चरित्रबाट बाहिर निस्कन उत्तिकै गाह्रो भएको रहेछ । ‘चलचित्रको काम सकेपछि क्यारेक्टरबाट बाहिर निस्कन निकै समय लाग्यो । मैले हातले मुसेर खाना खान पाएको थिइनँ । चम्चीले मात्र खाएको थिएँ । सुटिङ सकेर काठमाडौं आएपछि सुदर्शन दाईलाई ‘मेरो अझै कहीँ कतै बाँकी छ कि’ भनेर सोधें । किनकी तराईको ४४ डिग्रीसम्मको गर्मी, त्यसमाथि म नुहाउन पनि पाएको थिइनँ । म पुरै बिरामी भएको थिएँ । म तराईमा जन्मिए पनि त्यतिको तातो र गर्मी अनुभव मैले गरेको थिइनँ’, उनी भन्छन् ।