दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११

२०८२ बैशाख ५
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११

चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन् । यो शुक्रबार कुनै पनि नेपाली चलचित्र प्रदर्शन नभएका कारण त्यसको फाइदा यि चलचित्रले उठानु पर्ने हो । ‘पिताम्बर’को हकमा नयाँ नेपाली चलचित्र रिलिज नहुनुको फाइदा हलले दिने शो संख्यामा देखियो भने ‘कर्मा’को हकमा कुनै प्रभाव देखिएन ।

नयाँ वर्षको अवसर पारेर गत साता रिलिज भएका चलचित्रको पहिलो साताको ब्यापारका आधारमा हलहरुले दोस्रो साताको पहिलो दिनका लागि शो उपलब्ध गराएको देखिएको छ । 

‘पिताम्बर’ले प्रदर्शनको दिन १७० शोज प्राप्त गरेको थियो । वर्ड अफ माउथ राम्रो हुँदा चलचित्रको व्यापार पनि राम्रै भयो । त्यसको फाइदा दोस्रो सातामा देखिएको छ । हलहरुले चलचित्रलाई दोस्रो साताको पहिलो दिनमा १५८ शोज उपलब्ध लगाएका छन् । प्रदर्शनको आठौं दिनमा प्राप्त शो संख्याका हिसावले यो निकै उत्साहजनक हो । कृषा चौलागाइृको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरी, दिब्य देव, अनुप विक्रम शाही, दिब्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।

यता गत साता नै रिलज भएको चलचित्र ‘कर्मा’को अवस्था भने निकै नाजुक छ । पहिलो सातामा निराशाजनक ब्यापार गरेको चलचित्रको शो दोस्रो सातामा भारी मात्रमा कटौती गरिएको छ । चलचित्रले प्रदर्शनको दिनमा १२४ शोज पाप्त गरेको थियो । यो संख्या विस्तारै घट्दै दोस्रो साताको पहिलो दिन सम्म आइपुग्दा ११ मा खुम्चिएको छ । अर्थात आठौं दिनका लागि हलहरुले जम्मा ११ शोज उपलब्ध गराएका छन् । सौरभ चौधरी निर्देशित चलचित्रले पहिलो सातामा २५ लाखमाथिको ब्यापार गरेको आंकडा सार्वजनिक भएको छ । यो अत्यन्त निराशाजनक ब्यापार हो ।

यो सँगै ‘वसन्त’ तेस्रो सातामा, ‘अञ्जिला’, छैठौं साता, ‘होस्टेल ३’ सातौं सातामा र ‘लाज शरणम’ आठौं सातामा प्रदर्शन भइरहेका छन् । यि मध्ये ४२ शो सहित ‘अञ्जिला’को ब्यापार अझै पनि सन्तोषजनक छ ।

यसका साथै आजबाट नेपाली हलहरुमा बलिउड चलचित्र ‘केशरीः च्याप्टर २’ समेत प्रदर्शनमा आएको छ ।