‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

२०८२ असोज १२
‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

चलचित्र ‘परान’मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच चलचित्र नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो ।

दसैंको अवसर पारेर सार्वजनिक गीत विवाहको परिवेशमा आधारित छ । भिडियोमा चलचित्रका अधिकांश कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले भिडिओमा नृत्य तथा अभिनय गरेका छन् । दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.क.को स्वर गीतमा सुन्न सकिन्छ ।

गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेल हो । गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । पूर्ण पारिवारिक कथामा बनेको चलचित्रको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले चलचित्रको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो । चलचित्रका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन् ।

दीपक आचार्यको कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् ।