Mansara

राष्ट्रपतिबाट अवार्ड पाउदा भाग्यमानी कि, गोविन्दाकी छोरीबाट !

२०७५ असोज १
राष्ट्रपतिबाट अवार्ड पाउदा भाग्यमानी कि, गोविन्दाकी छोरीबाट !

स्वाभिमानका हिसावले हेर्ने हो भने नेपाल र भारतको हैसियत समान छ । अझ नेपालीहरुले कुनै पनि दिन विदेशी सामु शिर झुकाउन परेन । यसैले होला बलिउडका अभिनेता गोविन्दाले प्रेम र साहसको मामिलामा नेपालसँग टक्कर लिनसक्ने अर्को देश देखेको छैन भनि प्रसंसा गरेको ।

बलिउड कलाकारहरुले नेपाल र नेपालीको जति प्रसंसा गरे पनि नेपाली कलाकारहरुले भने आफ्नो हैसियत र स्वाभिमान चटक्कै बिर्सन पछि पर्दैनन् । यस्तै भयो आइतबार सम्पन्न एलजी सिन सर्कल अवार्डमा । जहाँ नायिका निता ढुङ्गानाले आफु को हुँ र आफ्नो हैसियत के हो ? भन्ने नै बिर्सिइन । सायद यसैले होला बलिउड अभिनेता गोविन्दाकी छोरी टिनाको हातबाट अवार्ड लिन पाउँदा निकै भाग्यमानी ठानिन् ।

पालो थियो उत्कृष्ट अभिनेत्रीको अवार्ड घोषणाको । निता उत्कृष्ट अभिनेत्री घोषित भइन । स्टेजमा थिइन गोबिन्दा पुत्री टिना । उनले नितालाई अवार्ड प्रदान गरिन । अनि निता बोल्नका लागि स्टेजको देब्रे तिर राखिएको पोडियममा पुगिन । उनले सम्बोधनको क्रममा भनिन् – ‘टिना जीको हातबाट यो अवार्ड लिन पाउदा साँच्चिकै कसै कसैले मलाई त धेरै भाग्यमानी छस् भन्थे साँच्चिकै म चाँही आज भाग्यमानी भए ।’

निताको आफ्नै परिचय छ । नेशनल अवार्ड विजेता अभिनेत्री हुन निता । राष्ट्रपतिको हातबाट अवार्ड ग्रहण गरेकी छिन । नेपाली चलचित्रमा उनको परिचय खोजिरहन पर्दैन । तर टिना आहुजा को हुन ? गोबिन्दाकी छोरी बाहेक चलचित्रमा उनको परिचय के हो ? भौगोलिक अनि अर्थिक दृष्टिले देश सानो होस् वा ठुलो, नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकोले हामी भन्न सक्छौं निताको हैसियत त बलिउडका कलाकारको बराबर हो । बलिउडकै कलाकारको हातबाट अवार्ड पाएको भएपनि ठुलो उद्योगका, बिश्वले चिनेका व्यक्तिको हातबाट अवार्ड पाउँदा भाग्यमानी ठान्नु स्वभाविकै हुन्थ्यो होला । तर राष्ट्रपतिको हातबाट अवार्ड पाउदा समेत आफुलाई भाग्यमानी नठानेकी निताले टिनाको हातबाट अवार्ड पाउँदा साँच्चिकै भाग्यमानी भएको ठानिछन् । तर, हामीले बुझेनौं टिनाको हातबाट अवार्ड लिन पाउँदा निता कसरी भाग्यमानी भइन !